नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई कसैले प्रोत्साहन गरे शान्ति प्रक्रिया ‘डिरेल’ हुनसक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले ओलीको कदमलाई कसैले प्रोत्साहन गरेमा शान्ति प्रक्रिया ‘डिरेल’ हुन सक्ने चिन्ता व्यक्त गरेका हुन् । ‘यो देशमा फेरि हिंसा होस्, फेरि युद्ध होस्, फेरि अराजकता होस् भन्ने कसैले चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु कोही पनि फेरि यो देशमा हिंसा, द्वन्द्व, अराजकता चाहनु हुन्छ भनेर म कल्पना पनि गर्न चाहन्न,’ दाहालले भने, ‘केपीको कदमलाई सदर गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ कि भन्ने ठूलो भन्ने चिन्ता छ, कसैले पनि देश बर्बाद हुने बाटोमा भूमिका नखेलौं । ठूलो मूल्य चुकाएर संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्राप्त भएको हो ।’
उनले आफ्नो पार्टीले समृद्ध नेपाल बनाइछाड्ने दाबी गरे । पार्टी एकतापछि पनि ओली जनयुद्धका सहिदहरुको सम्मान गर्ने कार्यक्रममा कहिल्यै सहभागी नभएको कुरा आफूले नोट गरेको दाहालले बताए । उनले भने, ‘जनयुद्ध भनेपछि एक शब्द सुन्न नचाहने हुनुहुन्थ्यो । शान्ति सम्झौता भएपछि त अलिकति सुध्रिनु भयो कि भनेको एकतापछि पनि जनयुद्धका सहिदलाई सम्मान गर्ने एउटा कार्यक्रममा जानु भएन । अरु नेताहरु जानु भयो । केपी कहिल्यै जानु भएन । मैले त्यसलाई खुब नोट गरेको छु ।’ तर, पार्टी विभाजनले आफू अल्पमतमा परेपछि जनयुद्धका घाइते अपाङ्गलाई हेर्नुपर्दैन भनेर ओलीले उल्टै आफूमाथि प्रश्न उठाएको पनि दाहालले बताए ।