राज्य सिँचाइ विभागले सिलगढी सहरको फुलेश्वरी र जोरपानी नदीहरूलाई पुनर्जीवित गर्न पहल गरेको छ। प्रदेशका सिँचाइमन्त्री पार्थ भौमिकले बुधबार फुलेश्वरी र जोरपानी नदीको अवलोकन गरेका छन्। उनीसँगै सिलगढीका मेयर गौतम देव र उपमेयर रञ्जन सरकार पनि थिए। उनले सिलगढी नगरपालिका क्षेत्रको ३६ र ३७ वडाको घोघामलीस्थित जोरपानी पुलबाट आफ्नो भ्रमण सुरु गरेका हुन्। त्यसपछि उनले सुभाषपल्लीको फुलेश्वरी खोला र अन्त्यमा डबग्राम क्षेत्रको भ्रमण गरे। पुलबाट उनले नदीको वर्तमान अवस्थाको जानकारी लिएका थिए। निरीक्षणपछि मन्त्रीले सहरका यी दुवै महत्वपूर्ण नदी यसै वर्ष मर्मत गरिने बताए। वर्षको अन्त्यसम्ममा नदीलाई पुरानै अवस्थामा फर्काउने व्यवस्था मिलाइनेछ।