कोरोना महामारीका बीच चिनियाँ जीडीपीमा उल्लेख्य सुधार

कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र चौपट भएको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको अर्थतन्त्रमा भने सुधार देखिएको छ ।

सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा निकै सुधार आएको बताइएको छ । सोमबार चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा २.३ प्रतिशतले वृद्धि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ठूला अर्थतन्त्र भएका मुलुकमध्ये सुधार गर्ने देश चीन मात्रै हो । कोरोना महामारीले दिएको धक्का, अमेरिका र भारतसँगको व्यापारिक द्वन्द्वका बाबजुद चीनले अर्थतन्त्रमा निकै सुधार गर्दै सबैलाई आश्चर्यचकित बनाइदिएको छ ।

राष्ट्रिष्य तथ्यांक विभागको तथ्यांकअनुसार सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको जीडीपीमा ६.५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै तेस्रो त्रैमासिकमा यो वृद्धिदर ४.९ प्रतिशत थियो । कोरोना महामारी र लकडाउनका बीच सन् २०२० को पहिलो तीन महिनामा चिनियाँ अर्थव्यवस्थामा ६.८ प्रतिशतसम्म गिरावट आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *