भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

भारत सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ । यस हिसाबले सात दिनभित्र उक्त अभियान सुरु गर्ने तय भएको हो ।

भारतको औषधि नियन्त्रण महानिर्देशालयले शनिबार र आइतबार गरी भारतमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युुट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ ।

यसअघि खोप अभियानको पूर्वतयारी स्वरूप दुई चरणमा गरेर ‘ड्राई रन’ गरिएको थियो । खोप अभियानका तयारीको यथार्थ अवस्था थाहा पाउन उक्त ड्राई रन चलाइएको थियो । उक्त ड्राई रन सफल भएपछि भारत सरकारले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारत सरकारले आगामी जुलाईसम्म ३० करोडलाई खोप लगाउने घोषणा पहिले नै गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा भने कोरोना भाइरसविरुद्धको खोप देशभरि नै नि:शुल्क उपलब्ध हुने जनाइएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारी विरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ । बाँकी २७ करोडका सम्बन्धमा भने पछि निर्णय लिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *