कांग्रेस केन्द्रीय समितिमा संसद पुनस्थापनाका लागि आन्दोलनको पक्ष र विपक्षमा मत

संसद विघटन गर्ने सरकारको कदमको विरोधमा कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनस्थापनाका सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार मंगलबारको बैठकमा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताए ।

‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई घाइते बनाइएको छ । यसलाई कांग्रेसले स्वीकार गर्नु हुँदैन । यो कदमको विपक्षमा रहेका सबैलाई गोलबद्ध गरेर हामीले संघर्ष गर्नुपर्छ,’ बैठकमा पौडेलको भनाई उद्धृत गर्दै ती नेताले भने । पौडेलले कांग्रेसले क्षणिक लाभहानीको हिसाब नगरी सिद्धान्तका लागि लड्नुपर्ने बताएका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य एनपी साउदले भने सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्ने बताएका थिए । सभापति शेरबहादुर देउवानिकट साउदले अहिले बहुमत कार्यकर्ताहरु चुनावको पक्षमा रहेको भन्दै चुनावमा जानुपर्ने बताएका थिए । उनले संसद पुनस्थापनाको माग लिएर सडक प्रदर्शनमा जान नहुने बताए ।

मंगलबारको बैठकमा जम्मा चारजनाले बोलेका थिए । बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले यो विषयमा अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो पनि महत्वपूर्ण हुने बताएका थिए । उनले अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *