नेकपाभित्र कस्तो राजनीतिक मान्यता स्थापित गर्ने भन्‍ने बहस हो : दाहाल

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कस्तो राजनीतिक मान्यता अवलम्बन गर्ने र कस्तो पद्धति स्थापित गर्ने भन्ने विषयमा बहस भइरहेको बताएका छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए । 

कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा शनिबार दाहालले भने, ‘नेकपाभित्रको बहस समाजवादको यात्रामा कस्तो आर्थिक नीति हुने ? कस्तो राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने ? कस्तो आचारसंहिता पालना गर्ने ? कस्तो विधिविधान र पद्धति स्थापित गर्ने ? भन्ने बहस छन् ।’

नेकपाभित्र पछिल्लो समय विवाद चर्किँदै गएको अवस्थामा दाहालको यस्तो भनाइ आएको हो । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षबीच विवाद भइरहेको छ । लामो समयदेखिको विवादका बीच आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ ।

लोकतान्त्रिक गणतन्त्रसामू बेलाबेला चुनौती आउने गरेको र तिनको सामना गरेर जाने शक्ति नेकपामा रहेको पनि दाहालको भनाइ थियो । गणतन्त्र ल्याउन नेकपाले महत्त्वपूर्ण संघर्ष गरेको र त्यसविरुद्धका चुनौतको सामना गर्ने क्षमता पनि नेकपामै रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *