मतगणना जारी, बाइडनको अग्रता

 अमेरिकी इतिहासकै निकै प्रतिस्पर्धात्मक मानिएको यसपालिको राष्ट्रपतीय चुनावको परिणामको पर्खाइ तेस्रो दिनमा प्रवेश गरेको छ । पूर्वउपराष्ट्रपति जो बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निर्वाचन परिणाम घोषणाको निकट पुगेको बताइएको छ ।स्थानीय समयअनुसार बिहीबार रातिसम्ममा आगामी चारवर्षे नेतृत्वको स्पष्ट चित्र आउने अनुमान छ ।

जितका लागि निकै महत्त्वपूर्ण मानिएका मध्यपश्चिमी दुई ‘ब्याटलग्राउन्ड’ राज्य मिसिगन र विस्कन्सन आफ्नो पक्षमा पारेसँगै बाइडेन जितको निकै नजिक पुगेका छन् । तर हरेक मतको गणना नहुन्जेल स्थिति ‘तरबारको धारमा’ रहेको विश्लेषण पनि गरिँदै छ । ‘ब्याटलग्राउन्ड’ राज्यहरू एरिजोना, नेभादा, पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा मतगणना जारी छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिन्छ । बाइडेन एरिजोना र नेभाडा राज्यको मतगणनामा अगाडि छन् भने ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा अग्रता लिइरहेका छन् । सीएनएनका अनुसार बिहीबार बेलुकासम्म बाइडेनले २ सय ५३ र ट्रम्पले २ सय १३ इलेक्टोरल कलेज भोट आफ्नो पक्षमा पारेका छन् ।

समाचार संस्था एपीले भने एरिजोना पनि बाइडेनको पक्षमा जाने बताएको छ । एरिजोनाको १३ इलेक्टोरल भोट बाइडेनको पक्षमा जाने एपीको दाबी छ । एपीका अनुसार बाइडेन २ सय ६४ इलेक्टोरल भोटसहित जितको नजिक छन् भने राष्ट्रपति ट्रम्प २ सय १४ इलेक्टोरल भोटसहित पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *