‘विद्रोही’ प्रधानमन्त्री ओली !

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार सहजै भनिदिए, ‘सँगै बस्न सकिन्न भने अलगअलग जाऔं । तपाईंले कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु ।’ 

आफ्नो पद नै धरापमा पर्ने सम्भावना भए पनि उनी कुनै विद्रोही नेताजस्तै आफ्नो पार्टी फुटाउने धम्की दिन सक्छन् । आगामी परिणाम जे होला, त्यसलाई काबुमा राख्न सक्ने गरी उनी ‘ओभर कन्फिडेन्ट’ देखिन्छन् ।

तपाईंलाई लाग्न सक्छ, के प्रधानमन्त्री विद्रोही हुन सक्छन् ? प्रधानमन्त्री ओलीको कार्यशैलीलाई के भन्नुहुन्छ ? के उनको सरकार सञ्चालनको कार्यशैली कुनै विद्रोही नेताभन्दा फरक छ ? यी प्रश्नको उत्तर खोज्ने हो भने प्रधानमन्त्री कुनै विद्रोही नेताभन्दा कम छैनन् ।

उनको कार्यशैली हेर्दा १० वर्ष सशस्त्र द्वन्द्व गरेका नेकपा अध्यक्ष दाहालको भन्दा बढी विद्रोही छ । पछिल्लो समय पूर्वविद्रोही नेता दाहालको कार्यशैली भने सहमति–उन्मुख हुँदै गएको छ । एमालेसँग पार्टी एकता भएपछि दाहालको स्वभावले विद्रोहीको छनक दिएको छैन । उनी बढी सम्झौता र सहमति–उन्मुख हुँदै गएका छन् । ओली भने दिनप्रतिदिन थप विद्रोही हुँदै गएका छन् । यो हेर्दा लाग्छ– दाहाल शान्तिपूर्ण राजनीति गरेका नेता हुन्, ओली विद्रोहबाट आएका नेता हुन् ।

केही समयअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली पार्टीमा अल्पमतमा परे । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षसँग बहुमतबाट ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सक्ने अवस्था थियो । त्यस बेला पार्टी फुटको संघारमा पुगेको अनुमान थियो । त्यति बेला दाहालसँग भएका हरेक भेटमा ओली भन्थे, ‘तपाईंले सकेको गर्नुस्, मैले सकेको म गर्छु ।’ उनको यो कुरा सुनेर दाहाल छक्क पर्थे । किनकि विगतमा सयौं सम्झौता गरिसकेका दाहालसामु ओलीले बहुमतसमक्ष सम्झौता गर्ने कुनै संकेत थिएन । यो देखेर दाहाललाई लाग्यो होला, ‘म विद्रोही नेता कि ओली ?’

ओलीले आफू अल्पमतमा परेको बेला नेकपाबाट विद्रोह गर्ने धम्की दिए । प्रधानमन्त्रीबाट हट्ने अवस्थामा उनले विद्रोह गर्थे कि सम्झौता ? त्यो कुरा उनैले जानुन् । ओलीको विद्रोही बोलीले अन्ततः दाहाल र उनीबीच सम्झौता भयो । त्यही सम्झौताअनुसार सरकार ओलीले र पार्टी दाहालले चलाउने निर्णय भयो ।

पछिल्लो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव पार्टीभित्र एउटा विद्रोह थियो । ओलीको ‘ब्याकअप’ पाएर नेता यामलाल कँडेलले बहुमत सांसदको हस्ताक्षर जुटाएका थिए । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच अनौपचारिक सम्झौता भएपछि त्यो अविश्वास प्रस्ताव सफल भएन । त्यस बेला पनि प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाहीलाई पत्र लेखेर कर्णाली प्रदेशसभाका मुख्य सचेतक गुलावजंग शाहलाई यथास्थितिमा राख्न निर्देशन दिए । त्यसको प्रत्युत्तरमा दाहालले अर्को पत्र लेखी पार्टी प्रदेशसभाले टुंगो लगाउन निर्देशन दिए । दुई अध्यक्षको ‘पत्र–वार’को परिणाम केही समयपछि पार्टीमा देखिनेछ ।

एकपटक होइन, पटकपटक ओलीले दाहालमाथि विद्रोह गरिसकेका छन् । सशस्त्र द्वन्द्वका बेला ओलीले लिएको राजनीतिक कार्यदिशाविरुद्ध विद्रोह गरेका दाहाल यति बेला भने ओलीको विद्रोही मनोविज्ञानले छक्क परेका छन् । विकल्प भइदिएको भए दाहालले पनि विद्रोह गर्न सक्थे । विद्रोहको अनुभव ओलीभन्दा दाहालसँग धेरै छ । तर यति बेला ओली नै पार्टी अध्यक्ष, प्रधानमन्त्रीका रूपमा विद्रोही देखिएका छन् । उनको सरकारका काम–कारबाही मात्र होइन, कोरोना, सञ्चारमाध्यम, प्रतिपक्ष कांग्रेसप्रति विद्रोह छेड्छन् । प्रायः प्रधानमन्त्रीले आक्रामकभन्दा कूटनीतिक र रक्षात्मक भएर सरकार चलाएको देखिन्छ । हाम्रा प्रधानमन्त्री ओली भने विद्रोही बोली र आक्रामक अभिव्यक्ति दिएर सरकार चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *