केही भारतीय सञ्चारमाध्यमले छिमेकी पाकिस्तानको संसद्मा सांसदहरूबीच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गर्दै समाचार दिए ।फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्।
तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन्?सोमवार पाकिस्तानका विपक्षी नेता खवाजा आसिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका लागि दबाव दिँदै थिए।
यसै महिनाको सुरुमा फ्रान्सको प्यारिसनजिकै एकजना शिक्षकको हत्या गरिएको थियो। पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएर कक्षामा पढाएको भन्दै उनको हत्या गरिएको ठानिएको छ।
त्यस्तो विवादास्पद कार्टुन छापिएको विषयमा आपत्ति जनाउँदै एउटा प्रस्तावमाथि मतदान हुनुपर्ने खवाजालगायतका सांसदहरूले दबाव दिइरहेका थिए।