भारतीय क्षेत्रमा चिनियाँ सैनिक

 भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ ।‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सेनाले उनको अवस्थाबारे खोजी गरेको छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनासमक्ष हस्तान्तरण गरिनेछ ।’

चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जनाएको छ ।

लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी छ । हाल भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमा क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक खटाएका छन् । सीमा विवादका कारण भारत र चीनबीच लामो समयदेखि तनाव जारी छ । दुई देशीय सीमा क्षेत्रमा करिब डेढ महिनाअघि गोली हानाहान पनि भएको थियो । सीमा क्षेत्रमा गोली चलेको यो चार दशकभन्दा लामो समयपछि पहिलो पटक हो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *