पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर इनाम

रूसी व्यापारी एलेक्स कोन्याखिनले भ्लादिमिर पुटिनको टाउको ल्याउनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। कोन्याखिनले आफ्नो फेसबुक र लिंक्डइनमा पुटिनको तस्बिरसहितको पोष्टर साझा गरेका छन्।

पोष्टरमा ‘Wanted: Dead or Alive. For Mass Murder’ लेखिएको छ। एलेक्सले पोष्टमा पुटिनलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराधीका रूपमा पक्राउ गर्न १० लाख डलर तिर्न तयार रहेको बताए।

फेसबुकले कोन्याखिनको पोष्ट हटायो
कोन्याखिनको यो पोष्टलाई आफ्नो नियम उल्लङ्घन भएको भन्दै फेसबुकले हटाएको छ। त्यसपछि रूसी व्यापारीले आफूले पुटिनलाई मार्न नभई न्यायको कठघरामा ल्याउन उक्त घोषणा गरेको स्पष्ट पारेका छन्।

कोन्याखिनले रूसले युक्रेनमा आक्रमण शुरु गरेको ८ दिनपछि यो पोष्ट गरेका हुन्। यो युद्धमा हालसम्म युक्रेनका २ हजारभन्दा बढी सर्वसाधारण मारिएको दाबी गरिएको छ। 

८० लाख डलर हिनामिनाको आरोप
५५ वर्षीय एलेक्स कोन्याखिन धनी व्यापारी हुन्। उनले सन् १९९२ मा रूसका तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनको नेतृत्वमा अमेरिकामा रूसी प्रतिनिधिमण्डलमा रहेर काम गरेका थिए। त्यसको केही समयपछि रूसी राष्ट्रपति कार्यालयका तर्फबाट रूसी एक्सचेन्ज बैंकमा उच्च पदमा रहेर पनि काम गरे।

त्यतिखेर एक्सचेन्ज बैंकबाट ८० लाख डलर हिनामिनाको आरोप लागेपछि उनले राजीनामा दिएका थिए र सन् २००७ मा अमेरिका भागेका थिए। हाल उनी अमेरिकामा बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *