नयाँ दिल्ली र काठमाडौंबीच दैनिक हवाइ उडान (फ्लाइट) को संख्या बढाइएको छ । भारतले सबै देशमा व्यावसायिक रुपमा प्रतिस्पर्धी किसिमले उडानको अनुमति भने दिइएको छैन तर काठमाडौंका लागि भने उडान संख्या थपिएको छ। बुधबार दिल्लीकाठमाडौँदिल्ली दुईतर्फी ४/४ वटा उडान भएका छन्। भारतीय निजी क्षेत्रका विमान कम्पनी इन्डिगो र भिस्ताराले बुधबारबाट काठमाडौं उडान थालेका हुन । २ वर्षअघि कोरोना महामारी शुरु भएसँगै दुई देशबीचको उडान बन्द गरिएको थियो । पछि अत्यावश्यक सेवा मान्दै निश्चित संख्यामा मात्रै उडान गर्ने गरी दुई देशबीच ‘एयर बबल’ सम्झौता भएको थियो। जसअन्तर्गत दुई देशका राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्दै आएका थिए ।
पछिल्लो समय दुवै विमान कम्पनीले दैनिक १/१ वटा उडानको अनुमति पाएको छ। त्यसअघि सातामा ३/३ उडान गर्दै आएका थिए । भारतले गत दिसम्बर १५ देखि एयर बबल हटाएर व्यावसायिक उडानको अनुमति दिने तयारी गरेको थियो तर, कोरोनाको संक्रमण फेरि बढेपछि उक्त निर्णय स्थगन गरिएकोमा त्यसलाई पुनः चलाएको सूचना भने आएको छैन । दिल्लीस्थित नेपाली राजदूतावासका एकजना अधिकारीले एयर बबल सम्झौतालाई संशोधन गरेर उडानको संख्या थपिएको बताए जसअनुसार अब सातामा भारतबाट २८ र नेपालबाट २८ वटा उडान हुनसक्छ ।
संशोधित सम्झौताकै आधारमा इन्डिगो र भिस्ताराले उडानको नेपाल पक्षबाट पनि अनुमति पाएका छन नेपाल एयरलाइन्सले मुम्बई र बैंग्लोरका लागि मागेको अनुमति भारतको विदेश मन्त्रालयमा पुगेको छ भारतबाट सातामा एयर इन्डियाले ७, इन्डिगोले १४ र भिस्ताराले ७ वटा उडान गर्ने अनुमति पाइसकेका छन इन्डिगोले सातामा ३ वटा उडान मुम्बईबाट गर्ने तयारी गरेको छ । उसले अन्य शहरबाट पनि काठमाडौं उडानको तयारी गरेपनि कार्यतालिका सार्वजनिक गरिसकेको छैन । कोरोनाका कारण २ वर्षयता दिल्लीकाठमाडौंदिल्ली उडानको संख्या घटेपछि भाडा उच्च दरमा पुगेको थियो। अब उडान संख्या थपिएपछि प्रतिस्पर्धाका कारण भाडादर कम हुने अनुमान गरिएको छ। कोरोनाका कारण यात्रु घटेपछि पछिल्लो महिनायता त्यसै पनि भाडादर ५५ सयदेखि ७ हजार भारतीय रुपियाँभित्रै छ।