भारतको सीमा क्षेत्रमा चीनियाँ चुनौती

अमेरिकी ह्वाइट हाउसले इन्डोप्यासिफिक रणनीतिक प्रतिवेदनमा भारतले सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनको व्यवहारबाट भूराजनीतिक चुनौतीहरूको सामना गरिरहेको भनेको छ। विश्वमा चीनको प्रभाव बढिरहेको तर इन्डोप्यासिफिकमा चिनियाँ प्रभाव सबैभन्दा तीव्र रहेको जारी अमेरिकी प्रतिवेदनमा उल्लेख छ। अस्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरूको क्वाड मन्त्रीस्तरीय बैठकको हिस्साका इन्डोप्यासिफिक रणनीतिक प्रतिवेदन सार्वजनिक भएको ह्वाइट हाउसले जनाएको छ ।

क्वाड सम्बद्ध चारैजना विदेशमन्त्रीहरूले यस क्षेत्रमा चीनको भूमिकाप्रति चिन्ता व्यक्त गरेका थिए ‘एलएसी (वास्तविक नियन्त्रण रेखा) मा चीनको व्यवहारले भारतलाई ठूलो प्रभाव पारेको छ,’ अमेरिकी रिपोर्टमा भनिएको छ, ‘यो चुनौतीले हामीलाई अर्को लोकतन्त्रसँग काम गर्ने प्रचुर अवसरहरू दिएको पनि देखेका छौं।’ अमेरिकी प्रतिवेदनमा भारतलाई महत्वपूर्ण रणनीतिक साझेदारको रूपमा उल्लेख गरिएको छ। अमेरिकी अधिकारीहरूले भारतसँगको सम्बन्धलाई उल्लेखनीय रूपमा फराकिलो र गहिरो बनाउन विगतका प्रशासनहरूको कामलाई निरन्तरता दिने चाहना व्यक्त गर्दै आएका छन् । अमेरिकी रणनीतिक प्रतिवेदनमा भनिएको छ, ‘चीनले आफ्नो आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक शक्तिलाई जोड्दै इन्डोप्यासिफिकमा प्रभाव विस्तार गरिरहेको छ र यसमार्फत चीन विश्वको सबैभन्दा प्रभावशाली शक्ति बन्न खोजिरहेको छ।

तर अमेरिकाले यो क्षेत्रमा आफू मुख्य शक्ति भएको, करिब ९ खर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक निवेश अमेरिकाले यो क्षेत्रबाट प्राप्त गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ। अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनद्वारा जारी पहिलो रणनीतिक प्रतिवेदनमा भारतको उदय र उसको क्षेत्रीय नेतृत्वलाई समर्थन गरेर इन्डोप्यासिफिकमा संयुक्त राज्य अमेरिकाको स्थिति सुदृढ अवस्था सिर्जना गर्ने उल्लेख गरिएको छ ‘हामी एक रणनीतिक साझेदारी निर्माणको प्रयास जारी राख्नेछौं, जसमा संयुक्त राज्य अमेरिका र भारतले दक्षिण एसियामा स्थायित्व प्रवर्धन गर्न क्षेत्रीय समूहहरूमार्फत काम गर्नेछन्,’ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले दक्षिण एसिया र हिन्द महासागरमा भारत उसको समान विचारधाराको साझेदार र नेता भएको उल्लेख गरेको छ । भारतलाई दक्षिणपूर्व एसियाको पनि साझेदारका रूपमा अमेरिकाले मानेको छ । अमेरिकाले भारतलाई क्षेत्रीय वृद्धि र विकासको इन्जिनसमेत भन्दै आएको छ । चीनले अस्ट्रेलियामा आर्थिक दबाउ बढाएको, भारतसँग एलएसीमा द्वन्द्वको अवस्था सिर्जना गरेको, ताइवानमाथि दबाउ बढाएको, साउथ चाइना सीमा छिमेकीहरूसँग बिगारेको पनि अमेरिकी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *