भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्। कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो। लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको केजरीवालले बताएका छन्। दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ। चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ। दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन्। विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले जनाएका छन्,
दिल्लीको मेट्रो रेल, रेस्टुराँ र बारलाई तिनको क्षमताको ५० प्रतिशत मानिस मात्रै रहनेगरी सञ्चालन गर्न दिइएको छ।
सरकारले प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दिल्लीमा ३३१ जनामा कोभिड पुष्टि भएको छ।
उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।