गैँड़ाको सिङ तस्करीमा 7 वर्षको जेल

राज्य र उत्तर–पूर्वका विभिन्न राज्यहरूका लागि त्रास बनेको कुख्यात अवैध शिकारी रिकच नार्जिनारीलाई बुधवार जलपाइढ़ीका मुख्य न्यायिक दण्डाधिकारी न्यायालयले गैँड़ाको सिङ तस्करी सम्बन्धी मुद्दामा 7 वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। साथै तिनलाई एक लाख रुपियाँ जरिमाना तिर्न पनि आदेश दिइएको छ। जरिमाना नतिरे थप 6 महीनाको कारावास भोग्नु पर्नेछ। वन विभागअनुसार, हालका वर्षहरूमा वन्यजन्तु शिकार तथा तिनका अङ्ग तस्करी सम्बन्धी मुद्दामा यति लामो सजायको उदाहरण देशमा दुर्लभ छ।

गत वर्ष गैँड़ा र हात्ती हत्या प्रकरणमा अलिपुरद्वार जिल्ला पुलिस अनि जलदापाड़ा वन विभागले नार्जिनारीलाई असमको कामरूप क्षेत्रबाट पक्राउ गरेका थिए। वन विभागको आरोप अनुसार सन् 2014 देखि 2018 बीच जलदापाड़ा र गोरुमारा राष्ट्रिय निकुञ्जमा भएका सबै गैँड़ा शिकारका घटनामा नार्जिनारीको प्रत्यक्ष संलग्नता थियो। पुलिस हिरासतमा रहँदा सोधपुछका क्रममा जलपाइगढ़ी वन विभागको डालगाउँ रेञ्जअन्तर्गतको एउटा स्थानमा गाड़िएको गैँड़ाको सिङ पनि फेला पारिएको थियो।

जलदापाड़ा वन विभागका डीएफओ पर्विन कसवानले भने, हात्तीका दाँत तस्करी मुद्दामा नार्जिनारी पहिले नै जेलमा छ। बुधवार अर्को मुद्दामा पनि तिनलाई सजाय सुनाइएको छ जुन वन विभागका लागि ठूलो सफलता हो। रिकच नार्जिनारी केवल एक अवैध शिकारी मात्र होइनन् तर धेरै देशका भाषामा दक्ष व्यक्ति पनि छन्। यही क्षमताका कारण तिनले गैँड़ा र अन्य वन्यजन्तुका अङ्गहरूको अवैध कारोबारलाई चीनदेखि लिएर भियतनाम, लाओस, कम्बोडिया र म्यानमारसम्म फैलाउन सफल भएको हो। साथै तिनले उत्तर–पूर्वका राज्यहरूसितै पश्चिम बङ्गालमा पनि बलियो सञ्जाल बनाएको थियो।

By Piyali Poddar