डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

बग्दै आइरहेको काठ सङ्कलन गर्न ज्यानको जोखिम उठाएर धेरैजना टिस्टा नदीमा हाम फाल्न थालेका छन्। कोही त डोरीले कम्मरमा बाँधेर रेलको पुलबाट बगिरहेको नदीमा नै पस्छन्। जलपाइगढ़ीको टिस्टा किनारमा बसोवास गर्ने केही वासिन्दाहरूले यस्तो जोखिमपूर्ण कार्य गरिरहेका छन्। यसकारण रेलवे सुरक्षा बल (आरपीएफ) र सरकारी रेलवे पुलिस (जीआरपी) ले एघाह्रजनालाई जरिमाना गरेका छन्। आरपीएफअनुसार, रेलको पुल प्रयोग गरेर काठ सङ्कलन गर्ने क्रममा जुन सुकै बेला ठूलो दुर्घटना हुन सक्छ। त्यसैले यस्तो कार्य रोक्न जरिमाना गरिएको हो। त्यससितै पुलमा निगरानी पनि बढ़ाइएको छ।
नदीमा बग्दै आइरहेको काठ सङ्कलन गर्न यहाँको नयाँ अभ्यास होइन। टिस्टा किनारका वासिन्दाहरूले यी काठहरू खाना पकाउन इन्धनको रूपमा प्रयोग गर्छन्। कतिले बिक्री गरेर केही पैसा पनि कमाउँछन्। केही दिनदेखि सिक्किममा अधिक वर्षा भएकाले टिस्टा नदीमा पानीको बहाउ बढ़ेको छ। त्यसैले नदीमा पहाड़बाट काठहरू बग्दै आइरहेका छन्। यी काठ सङ्कलन गर्ने प्रतिस्पर्धा जलपाइगढ़ीको दोमोहनी विवेकानन्द पल्लीका केही वासिन्दाहरूबीच आरम्भ भएको छ। कतिले त रेल पुलबाट कम्मरमा डोरी बाँधेर तीव्र गतिमा बगिरहेको टिस्टा नदीमा हाम फाल्छन्। स्थानीय वासिन्दा बसन्त रायले भने, प्रत्येक वर्ष हामी यसै गरी नदीबाट काठ सङ्कलन गर्छौँ।

जसले धेरै काठ सङ्कलन गर्छ तिनको पूरै वर्ष खाना पकाउन इन्धनको चिन्ता समाप्त हुन्छ। त्यसैले एउटा अनौपचारिक प्रतिस्पर्धा नै चल्छ। जलपाइगढ़ी रोड स्टेशनका आरपीएफ निरीक्षक बिप्लव दत्तले भने, जसरी रेल पुल प्रयोग भइरहेको छ, त्यो निकै जोखिमपूर्ण हो। माइक गरेर चेताउनी दिइएको छ र एघाह्रजनालाई जरिमाना पनि लगाइएको छ। अब कोही रेल पुलमा नजावोस् भनेर निगरानी गरिँदैछ।

By Piyali Poddar