हरिवंशको कोरोना अनुभव : ‘नेगेटिभ आए पनि म ‘कोरोना फ्रि’ भएको छैन’

कोरोना लागिहाल्छ कि ! धेरैलाई झैं कलाकार हरिवंश आचार्यलाई पनि यो डर थियो । मनको डरमाथि आत्मबल बलियो पार्दै आफैँलाई भन्थें, ‘मलाई कोरोना लाग्दैन’ । उनकै शब्दमा सावधानी अपनाउन कतै चुकेकै थिएनन् । सामाजिक दूरी कायम गर्थे । साबुनपानीले हात धुन्थे, ‍स्यानिटाइजर प्रयोग गरिरहन्थें ।

बिहान तरकारी किन्न जाँदा पैसाका लागि अर्को प्लाष्टिकको झोला बोक्थे । फिर्ता आएको पैसा त्यसैमा राख्थे । त्यो पैसा २ दिनपछि स्यानिटाइजर लगाएर मात्रै प्रयोग गर्थे ।

सावधानी अपनाउँदा अपनाउँदै कसरी कोरोना लाग्यो, उनलाई थाहा छैन । ‘मैले धेरै सम्झिन खोजें, कसरी सर्‍यो भनेर तर पत्ता लगाउन सकिनँ,’ उनी सुनाउँछन् ।

पत्नी रमिलाको स्वाद नहराएको भए उनले कोरोनाको परिक्षण गर्ने थिएनन् । खासमा रमिलालाई टाउको दुख्ने, ज्यान दुख्ने लक्षण देख्न थालिसकेको थियो । २ दिन ९९ डिग्रीको ज्वरो आयो । आफ्नै शरीर दुख्न थालेको दुई दिनसम्म भाइरल रुघाखोकी सोचेर त्यति वास्ता गरेनन् । तर, बिस्तारै रमिलालाई बास्ना आउन छोड्यो । त्यसपछि उनी दुईले कोरोना परिक्षण गराए । ‘सात दिनसम्म उसलाई जिउ दुख्यो । जिउ दुखेको कम हुन थालेको थियो अचानक उसको मुखको स्वाद गयो । बास्ना आउन पनि छोडेछ । त्यसपछि कोरोनाको शंका लागेर हामीले टेस्ट गर्दा दुवैजनाको पोजिटिभ आयो,’ हरिवंशले भने।

असोज २० गते दुईलाई कोरोना संक्रमण देखियो । पत्नी रमिलाको भन्दा हरिवंशको शरीरमा भाइरस धेरै रहेछ । उनको सिटी काउन्ट (साइकल थ्रेसहोल्ड) १९/२० थियो । तर उनको स्वाद र बास्ना गएन । उनी आत्तिएनन्, आत्मबल बलियो बनाए । ‘म डराइनँ । किनभने डरायो भने व्यक्ति कमजोर हुन्छ । आत्मबल नै सबैभन्दा ठूलो औषधि भनिन्छ नि त । आत्मबल घटाउनु हँदैन भन्ने थियो । त्यसैले नतिजा पोजिटिभ आएपछि ‘ए कोरोना लागेछ’ भन्ने भयो,’ उनले आफ्नो अनुभव सुनाए ।

आफूलाई संक्रमण पुष्टि हुने बित्तिकै सुरुमा उनलाई मदन दाइ (मदककृष्ण श्रेष्ठ)को चिन्ता लाग्यो । आफूबाट कसैलाई कोरोना सर्ला भन्ने अर्को चिन्ता थपियो । ‘मदन दाईको स्वास्थ्य अलि जटिल छ । एकदिन अगाडिसम्म एउटा विज्ञापनको सुटिङमा म उहाँसँगै थिए । हामी एउटै गाडीमा जान्थ्यौं, दिनभरी सँगै हुन्थ्यो । मलाई पोजिटिभ भयो भन्ने साथै मलाई मदन दाइको डर लाग्यो । मदन दाइलाई के भो होला भन्ने भयो,’ संक्रमण पुष्टि हुँदाका अनुभव सुनाउँछन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *