स्वतन्त्रतामा खस्कियो भारत

अन्तर्राष्ट्रिय मञ्चहरूमा नागरिक एवं प्रेस स्वतन्त्रताका लागि भारतमा अनुकूल वातावरण रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दाबी एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले गलत ठहर्‍याएको छ ।

अमेरिकाको वासिङ्टन डीसीस्थित थिंक ट्यांक फ्रिडम हाउसको ‘फ्रिडम इन द वर्ल्ड २०२१’ प्रतिवेदनले राजनीतिक र नागरिक स्वतन्त्रताको मामिलामा भारतको स्तर खस्किएको निष्कर्ष निकालेको हो । राजनीतिक र नागरिक स्वतन्त्रताको अवस्था ओरालो लागेकै कारण भारत यस वर्ष स्वतन्त्रता भएको मुलुकबाट आंशिक स्वतन्त्रता भएको मुलुकमा झरेको छ ।

हाउसले विश्वका १९५ मुलुकको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताअन्तर्गतका विभिन्न २५ वटा सूचकहरूका आधारमा तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । मुलुकहरूले पाएको स्वतन्त्रताको अकंका आधारमा स्वतन्त्र, आंशिक स्वतन्त्र र स्वतन्त्र नभएको सूचीकृत गरिएको छ । त्यसका लागि वर्षभरिका विभिन्न घटनाहरूलाई केलाइएको समेत जनाइएको छ । रिपोर्टमा यस वर्ष ७३ मुलुकको स्वतन्त्रताको सूचक घटेको देखाएको छ ।

यी मुलुकहरूमा विश्वको कुल जनसंख्याको ७५ प्रतिशत हिस्सा बस्छन् । स्वतन्त्रता ओरालो लाग्ने मुलुकहरूमा चीन, भेनेजुएलाजस्ता मुलुक मात्र नभएर एक मात्र नभएर विश्वका कहलिएका लोकतान्त्रिक मुलुकहरू अमेरिका र भारतसमेत छन् । प्रतिवेदनअनुसार सन् २०२० मा विभिन्न ठूला लोकतन्त्रमा तानाशाही पात्रहरू बलियो बन्न जाँदा विश्वव्यापी रूपमै स्वतन्त्रताको सूचकांकमा यस वर्षमा पनि ओरालो लागेको छ । यो सूचकांक गत १४ वर्षदेखि घट्दै आएको थियो । अन्य मुलुकहरूभन्दा पनि भारत यस वर्ष आंशिक स्वतन्त्र मुलुकमा पर्नुलाई निकै गम्भीर रूपमा हेरिएको छ । भारत स्वतन्त्रबाट आंशिक स्वतन्त्रमा झर्दा विश्वको कुल जनसंख्याको ठूलो हिस्साले नै पूर्ण स्वतन्त्रता उपभोग गर्नबाट वञ्चित हुन पुगेको प्रतिवेदनले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *