स्पष्ट बहुमतमा छु, राजीनामा दिन्‍नँ : मुख्यमन्त्री शाही

सुर्खेत — कर्णाली प्रदेश प्रमुखको कार्यालयले बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता गरेको जानकारी गराएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलसहित १० जना उपस्थित बैठकले बुधबार मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उक्त जानकारी गराइएको हो ।

प्रदेश प्रमुख गोविन्द कलौनीका प्रमुख स्वकीय सचिव चूडामणि कलौनीले संसदीय दलको निर्णयबारे जानकारी गराएपछि मुख्यमन्त्रीले राजीनामा दिने वा संसद्बाट विश्वासको मत लिने निर्णय गर्न सक्ने बताए । ‘विश्वासको मत लिने हो भने सरकारले यथाशक्य संसद् अधिवेशन आह्वान गर्छ होला,’ उनले भने, ‘यसबारे मुख्यमन्त्रीले उचित निर्णय लिनुहोला ।’

मुख्यमन्त्री शाहीले भने अहिले पनि आफ्नो पक्षमा स्पष्ट बहुमत (२२ सांसद) कायमै रहेकाले राजीनामा नदिने बताएका छन् । एमालेको माधव नेपाल समूहका ९ जना र माओवादी केन्द्रका १३ जना सांसद (एक जना एमालेमा गएका) सरकारको समर्थनमा रहेका उनको भनाइ छ । ‘एमालेको एक समूहले समर्थन फिर्ता लिने हिजो (बुधबार) को कदमलाई गुटको निर्णय भनिसकेको छ, म संसद्मा पूर्ण बहुमतमा छु,’ उनले भने, ‘आवश्यक परे उचित समयमा संसद्को विश्वास देखाउनेछु ।’

वीरेन्द्रनगरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि माओवादी केन्द्रका संसदीय दल नेता शाहीलाई समर्थन दिएको थियो । उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा गठनपछि प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्री हुने धारा १६८ (१) मा शाही नेतृत्वको सरकार रूपान्तरण भएको थियो । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि कर्णाली सरकार पुन: धारा १६८ (२) को अवस्थामा पुगेको थियो ।

एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि कर्णाली प्रदेशसभाले संसद् बैठक कक्षको सिट परिवर्तन गर्ने भएको छ । सत्ता पक्ष, प्रमुख प्रतिपक्षी वा प्रतिपक्षीको सिट व्यवस्थापन भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्राप्त भएपछि गरिने सभामुख राजबहादुर शाहीले बताए । ‘एमालेले समर्थन फिर्ता लिएको जानकारी अहिलेसम्म आइपुगेको छैन,’ उनले भने, ‘त्यसैले संसद्मा एमाले सत्ता पक्षकै रूपमा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *