सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा भने मत मिलेको छ ।

राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन ।

रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै सुधारगृह पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए । आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । मृतक नवराज विकसँग नाम जोडिएकी किशोरीलाई थुनामा नभई साधारण तारेखमा छाड्ने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको हो ।

अहिले उच्च अदालत सुर्खेतमा पुगेको विषय मूल मुद्दा होइन । सामूहिक हत्याको आरोप लागेकाविरुद्धको मुद्दा रुकुम पश्चिमको जिल्ला अदालतमै विचाराधीन छ । उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भनी गरिएको आदेशविरुद्ध मात्रै आरोपितहरू उच्च अदालत पुगेका हुन् । अनि केही आरोपितलाई छाड्ने आदेशविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत सुर्खेतमा निवेदन दिएको छ ।

यो मुद्दामा तेस्रो न्यायाधीशको समेत राय आएपछि आरोपितलाई थुनामै राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा रिहा गर्नेमध्ये एउटा आदेश हुनेछ । त्यो आदेशसमेत चित्त नबुझे सम्बद्ध पक्षले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछ । सर्वोच्चले समेत सुनुवाइ गरेपछि थुनछेकको आदेश अन्तिम भएर बस्छ । त्यसपछि जिल्ला अदालत रुकुममा विचाराधीन ज्यानमुद्दाको सुनुवाइ अघि बढ्छ । तर जिल्लामा विचाराधीन मुद्दा अघि बढाउन भने अहिलेको यो प्रक्रियाले कुनै असर गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *