आपूर्तिमन्त्री राजकिशोर यादवले प्रस्तावित सिलिगुडी–झापा पाइपलाइन परियोजनाको भण्डारणगृह गुणस्तरीय तथा प्रविधिको उचित प्रयोग गरी अघि बढाइएको बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै परियोजना तथा भण्डारण गृहको स्थलगत निरीक्षण गर्न झापा आइपुगेका मन्त्री यादवले भण्डारण गृहलाई प्राथमिकताका साथ अघि बढाएको उनको तर्क छ । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश–१ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने सक्ने मन्त्री यादवले जानकारी दिए । प्राविधिक अध्ययन, नीतिगत निर्णय तथा परियोजना गठन भइसकेको जानकारी गराएका मन्त्री यादवले नेपाल तथा भारत सरकारस्तरीय ‘जीटूजी’ को माध्यमबाट असोज मसान्तभित्र बाँकी प्रक्रिया पूरा गरेर निर्माणकार्य सुरु गरिने जनाए । “मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न भयो,” मन्त्री यादवले भने, “सिलिगुडी–झापा पाइपलाइन परियोजना पनि समयमा नै सम्पन्न गर्नेछौं ।”
झापाको चारआलीमा २३ बिघा जग्गामा पेट्रोलियम पदार्थ भण्डारणका संरचना निर्माण हुँदैछ । २०७३ सालमा निगमले खरिद गरेको जग्गामा भण्डारणगृह निर्माण प्रक्रिया सुरु भएको नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले बताए । पेट्रोलियम पाइपलाइन चालू आर्थिक वर्षको फागुनदेखि नै निर्माणकार्य सुरु हुने भनिएको थियो । आगामी असोज महिनाभित्र निर्माण सुरु हुने कार्यकारी प्रमुख पौडेलले जानकारी दिए । सात अर्ब ८० करोड भारतीय रुपैयाँको लागतमा पाइपलाइन तथा पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माण हुने कार्यकारी निर्देशक पौडेलले बताए । सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न यसअघि पनि संसदीय समितिले दबाब दिएको थियो ।
उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टीतेल र एक हजार दुई सय ५० किलोलिटर हवाईइन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुने प्रमुख पौडेलले जानकारी दिए । पाइपलाइनको विस्तार र भण्डारणगृह निर्माण पश्चात पेट्रोलियम पदार्थमा हुने चोरी निकासी कम हुने पौडेलले बताए ।