सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म देखिएको कम्पनीले बुधबार जनाएको छ ।

फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम देखिएको छ । फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४.४ प्रतिशत प्रभावकारिता देखिएको थियो । त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ ।

चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ ।

आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी चिनियाँ नागरिकलाई कोरोना खोप लगाइएको बताइएको छ । तर खोप कसलाई लगाइएका व्यक्ति र खोप परीक्षणको नतिजाका बारेमा पारदर्शी ढंगले विवरण सार्वजनिक नगरिएको भन्दै चीनको आलोचना भइरहेको थियो । तर चिनियाँ अधिकारीले भने कोरोना खोप सुरक्षित र प्रभावकारी भएको र यसबाट गम्भीर प्रकृतिको ‘साइड इफेक्ट’ नहुने दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *