सरकारी वकिल कार्यालयमार्फत चौरसिया हत्याको जाहेरी दर्ता

 मुकेश चौरसिया हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले लिन नमानेपछि पीडित पक्षले बिहीबार सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् । 

गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष बिहीबार निवेदनसहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो । सरकारी वकिल कार्यालयका पदमबहादुर कार्कीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताए । ‘मुद्दा दर्ता र अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो,’ उनले भने, ‘निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी त्यही पठाएको हौं ।’

सरकारी वकिल कार्यालयबाट पत्र आएपछि प्रहरीले कर्तव्य ज्यानको पुरानै जाहेरी दर्ता गरेको मृतकका भाइ महेश चौरसियाले बताए । ‘राजकुमार गुप्ता सहितको जाहेरी दर्ता भएको छ,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको दर्ता नम्बर १९० मा कर्तव्य ज्यान मुद्दा बिहीबार दर्ता भयो ।’

शुक्रबार मुकेशको मृत्यु भएपछि मृतकका भाइ महेश चौरसियाले दाइको हत्याको मुख्य योजनाकारमा सभासद तथा नेकपा नेता राजकुमार गुप्तासहित १२ जनाको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेको थिएन । उनका अनुसार गुप्ताको नाम हटाई जाहेरी ल्याएमात्र दर्ता गर्ने प्रहरीले अडान राखेको थियो । जाहेरी दर्ता गराउन नेकपाका जिल्ला इन्चार्ज, सचिव लगायतका नेता जिल्ला प्रहरी कार्यालय अगाडि विगत ७ दिनदेखि धर्ना दिइरहेका थिए । चौरसियाको शव नारायणी अस्पतालमा राखिएको थियो । मुद्दा दर्ता भएपछि शुक्रबार शवको पोस्टमार्टम गरी दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *