काठमाडौं भोका मान्छेहरूको सहर कहलिने ‘अतिशय चिन्ता’ मा गएको बुधबार काठमाडौं महानगरपालिकाका प्रमुखले बोलेका कुराले मिडिया र सामाजिक सञ्जाल ताते । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा दोहोर्याउँदै मेयर विद्यासुन्दर शाक्यले बालेका मीठामीठा शब्द सुन्दा लाग्छ, साँच्चै टुँडिखेल लगायतका ठाउँमा भात खान धाउनेहरू सहर र सिंगै राज्यलाई बेइज्जत गराउन षड्यन्त्रपूर्वक डाकिएका ‘छद्म–भोका’ मान्छे मात्रै हुन् र भात खुवाउनेहरूचाहिँ सरकारविरोधी, राज्यविरोधी अराष्ट्रिय तत्त्व ।
हो, मेयर शाक्यले भनेजस्तै यी भोका मान्छेका ताँतीले काठमाडौंको सौन्दर्यको तेजोबध गरेको छ; देशको इज्जत धूलिसात् पारेको छ । यसरी शासकहरूमा ‘इज्जत’ को विचार आउनु र इज्जत जोगाउने विकल्प केकति छन्, कस्ता छन् भनेर खोजी गर्न चाहनु अनि विकल्पमा पार्टी प्यालेसमा डाकेर खुवाउने उर्दी सुनाउनु पनि झट्ट सुन्दा कान सन्चो हुने खबर नै हो । तर उल्कै सरमहीन र ‘बे–इज्जती’ प्रश्न त जिउँदै ठडिँदो रहेछ, चैत ११ गतेदेखि यतिन्जेलसम्मका आठ महिना यी मीठामीठा शब्द बोल्ने मुख कुन दुनियाँमा थियो ? के तिनका कानले यी आठ महिनाभरिमा देशको मुटु काठमाडौंमै रचिएका भोकका क्रूर कथा, अखबारले छापेका ज्यामी–मजदुर र विपन्न जनका छाती चिथोरिने व्यथा सुनेनन् ?
हुन त मेलम्ची, वाइडबडी, ओम्नी, यति, सेक्युरिटी प्रेस, बूढी गण्डकी, अदालत, अस्पताल, विश्वविद्यालय जता फक्र्यो उतै मालामाल बन्न पाइरहेका सत्ताधारी हरिया आँखामा भोका मान्छेका फुस्रा खोपिल्टा आँखाको कहर नदेखिनु, नसुनिनु कुनै अनौठो कुरै होइन । फेरि, सत्तासीन भएपछि गफै मात्र जोतेर खानेबाहेक अर्थोक नजानेका, लाज पचाउने कलामा कुशाग्र प्रधानमन्त्रीका साक्खै साला पर्ने मेयरज्यूले अलिकति चरित्र परमप्रतापी भिनाजुबाटै सापट लिएका हुन् भने पनि के उदेक भयो र ?
महिनादिनजति अघि होला, सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्ने हिमाली गाउँपालिकाकी ३० वर्षकी सत्ता नेपाली आफ्ना चार सन्तानसहित कवाडी खोलामा हेलिइन् । आमा र एक सन्तानको शव कर्णालीको छालले किनारामा हुत्त्याइदियो र भेटियो । बाँकीको भेटिएन । हुम्लासँग सीमा जोडिएको सुदूर बाजुरेली गाउँकी सत्ता नेपाली आफ्ना लालाबालासहित किन त्यसरी खोलामा हेलिइन् ? त्यसको उत्तर मरेर जाने सत्तासँग सोध्न मिल्दैन, यो मुलुकको ‘इज्जत’ हाँक्ने ‘सत्ताका मालिकहरू’ सित सोध्नुपर्छ ।