वैदेशिक रोजगार: मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्।

ती शवहरू नेपाल ल्याउन ‘सरकारलाई आग्रह गरिए’ अनुसार ‘यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ।

कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ

मलेशियामा कार्यस्थलको अवस्था

मलेशियामा वैधानिक कागजात भएका र नभएका गरी करिब पाँच लाख नेपाली कामदारहरू रहेको बताइने गरेको छ।

कतिपय नेपाली कामदारहरू खराब अवस्थामा त्यहाँ कार्यरत रहेको विवरण पनि बेलाबेला सार्वजनिक हुने गरेको छ।

केही महिनाअघि मात्र विश्वकै ठूलो र चर्चितमध्येको एउटा पन्जा कम्पनीमा कामदारको शोषण गरिएको भन्ने विवरणहरू सार्वजनिक भएका थिए।

उक्त कम्पनीमा सयौँ नेपाली कामदारहरू कार्यरत रहेका थिए।

त्यहाँ कार्यरत सयौँ कामदारमा एकैपटक कोभिड-१९ भएपछि उक्त कम्पनी केही समयका लागि बन्द भएको थियो भने कामदारलाई दिइएको सुविधालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रश्न उठाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *