रिया चक्रवर्तीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

रियाका भाइ शोविक चक्रवर्तीको जमानत याचिका भने अदालतले खारेज गरिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रियालाई ससर्त जमानत प्राप्त भएको हो । उनले प्रहरीलाई पासपोर्ट बुझाउनुपर्नेछ भने मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्नेछ । सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गर्न बम्बै उच्च अदालतले आदेश दिएको हो ।

रियाका वकिल सतीश मानेशिन्देले बम्बै अदालको आदेशबाट आफूहरु खुसी भएको भन्दै तथ्य र प्रमाणको आधारमा सत्य र न्याय स्थापित भएको प्रतिक्रिया दिएका छन् । उनले रियाको पक्राउ पनि अनावश्यक भएको उल्लेख गर्दै सीबीआई, ईडी र एनसीबीले त्यसै दु:ख दिएको बताएका छन् ।

रिया चक्रवर्तीलाई सेप्टेम्बर ८ मा लागुऔषध नियन्त्रण ब्युरो(एनसीबी) ले सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणसँग जोडिएको लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । गत जुन १४ मा बलिउड अभिनेता राजपूत मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए । रियालाई सुशान्तलाई लागूऔषध उपलब्ध गराएको र लागूऔषध ओसारपसारमा संलग्न गिरोहको सदस्य भएको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *