उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको बताएका थिए। साथै उनले अक्सिजन सिलिन्डरहरू लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएका थिए। स्वास्थ्यमन्त्रीले उनको आलोचना गरेपछि भने रामदेवले आफ्नो भनाइ फिर्ता लिएका छन्। तर सोमवार उनले केही रोगहरूको उपचार गर्न नसक्ने भन्दै पुनः आधुनिक चिकित्साको आलोचना गरेका छन्।
एलोप्याथी समेत भनिने आधुनिक चिकित्सा भारतीय चिकित्सा प्रणालीको मेरुदण्ड हो। तर त्यहाँ आयुर्वेद र होमियोप्याथीजस्ता चिकित्सा पद्धतिहरू पनि निकै लोकप्रिय छन्।
रामदेवजस्तै धेरै गुरुहरूले जडीबुटी औषधिहरू र उत्पादनहरूको आडमा सफल व्यापार गरेका छन्।
परम्परागत प्रणालीको प्रवर्द्धनका लागि भारतमा आयुर्वेद, योग र प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी मन्त्रालय पनि छ।
एलोप्याथी चिकित्सकहरूको प्रतिनिधित्व गर्ने इन्डियन मेडिकल एसोसिएसन आईएमएले रामदेवको आलोचना गर्दै उनको अभिव्यक्तिलाई महामारीको मध्यमा गरिएको ‘असंवेदनशील’ कार्य भनेको छ।
अक्सिजन पाउन कोसिस गरिरहेका बिरामीहरूको खिसीटिउरी गरेको रामदेवको एउटा भिडिओ यसै महिनाको सुरुमा भाइरल भएको थियो।
उनले कहिले त्यो अभिव्यक्ति दिएका थिए भन्ने स्पष्ट छैन तर उनले एप्रिल र मे महिनामा कैयौँ सहरहरूमा अक्सिजन अभाव भएको उद्धृत गरिरहेको सुनिएको छ।
उनले त्यसमा भनेका छन्, “ईश्वरले हामीलाई सित्तैमा अक्सिजन दिएका छन्, किन हामी त्यसैको सास लिँदैनौँ? जब ईश्वरले वायुमण्डलमै अक्सिजन भरिदिएका छन् भने कसरी त्यसको अभाव हुन्छ?”
“मूर्खहरू अक्सिजन सिलिन्डर खोजिरहेका छन्। सित्तैको अक्सिजनको सास लिनूस्। किन तपाईँ अक्सिजन अभाव, शय्या र शवदाहको अभावको गुनासो गर्नुहुन्छ?”
उनको अभिव्यक्तिले चिकित्सकहरू र एलोप्याथिक उपचार गर्न चाहने कोभिड बिरामीका परिवारका सदस्यहरूको कडा आलोचना खेप्नुपर्यो।
त्यसको दुई सातापछि अर्को भिडिओ बाहिरियो। त्यसमा उनले कोभिडबाट भएको मृत्युका लागि चिकित्सकहरूलाई आलोचना गरिरहेको सुनिन्छ।