राजावादी आन्दोलनको स्वैरकल्पना

बितेका केही हप्ताबीच ‘राजा आऊ, देश बचाऊ’ भन्दै राजावादीहरूले केही हजार मोटरसाइकल र केही सय साना गाडीसहित संघीय राजधानी लगायतका सहरहरूमा प्रदर्शन गरे । सामाजिक सञ्जालहरूमा गणतन्त्रका निम्ति विगतमा उर्लिएका जनसागरका फोटाहरूसमेत काटकुट गरेर राख्दै उनीहरूले गणतन्त्रका विरुद्धमा जनता देशव्यापी उठेको प्रचारसमेत गर्न भ्याए ।

तर जेजति संख्यामा भए पनि यो त यथार्थ हो, राजावादीहरू सडकमा आए । यी प्रदर्शनहरूसँगै एउटा प्रश्न सतहमा आएको छ— के राजावादीहरूको संख्या बढेको हो ? अहिलेका प्रदर्शनहरू केही महिनादेखिको तयारीमा भएका हुन् तर देशभरिमा एक लाख मानिस पनि सडकमा देखा नपर्नु भनेको राजावादीहरूको वृद्धि भएको मान्न सकिने अवस्था पटक्कै होइन ।

राजतन्त्र ब्युँताउनुपर्छ भन्ने राप्रपा हाक्काहाक्की एकाध स्थानमा प्रत्यक्ष निर्वाचित भएको हो, समानुपातिकतर्फ पनि केही हजार मत ल्याएको हो । त्यस वैचारिक धाराका पटकपटक फुट्ने र जुट्ने केही पार्टी लगातार धेरथोर जनाधारसहित क्रियाशील रहँदै आएका छन् । राजतन्त्रकालको उपदानबाट निर्मित कुलीन खानदानहरू जीवितै छन्, जो मञ्चमा प्रत्यक्ष देखा नपरे पनि राजतन्त्रप्रति सेवाभाव नै राख्छन् । विभिन्न पार्टीमा प्रवेश गरेका राजावादी पञ्चहरूको पारिवारिक संस्कारमा राजतन्त्र जीवितै छ । राजतन्त्रीय वैचारिकीबाट प्रशिक्षित प्रशासन, सेना लगायतका संगठित राज्ययन्त्रका व्यक्तिहरूको विरासत निर्माणको प्रक्रिया कमजोर भए पनि टुटिसकेको छैन । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता गलत छ भन्ने वैचारिक वकालत गर्ने एक जमात बुद्धिजीवीहरू निरन्तर विगत बाह्र वर्षदेखि संगठित रूपमा क्रियाशील छन् । यो सबै अवस्थाका बावजुद राजावादीहरूको प्रदर्शन त्यति संख्या र त्यस्तो निम्छरो तरिकाको हुनु भनेको राजावादीको संख्या, वैचारिकी र संगठनमा गुणात्मक वृद्धि नभएको ठोस प्रमाण हो । के कुराचाहिँ अकाट्य रूपमा सत्य हो भने, राजावादीहरू जति संख्यामा भए पनि आज उनीहरू उत्साहित छन्Ù उनीहरूको हौसला अझ बढेको छ । त्यसैले आम गणतन्त्रवादीको सरोकार उनीहरूको वृद्धिमा भन्दा उत्साह र हौसलामा केन्द्रित हुनु आवश्यक छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *