राजपुर बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब थुनामा

रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुरस्थित तत्कालीन मन्त्री शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायत घाइतेलाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा महताब बेकसुर हुन भन्ने नदेखिएकोले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको जिल्ला अदालतले जनायो ।

अदालतको आदेशपछि महताबलाई आइतबार जिल्ला कारागार गौर चलान गरिएको छ । बम बिस्फोटको घटनाको १२ वर्षपछि २०७६ असोज २६ गते कांग्रेस नेता आफताब पक्राउ परेपछि राजनीति आवरणमा गुमनाम उक्त घटनाको अनुसन्धानले सार्थकता पाएको थियो । उनलाई जिल्ला अदालत गौरले २०७६ कात्तिक २९ गते पुर्पक्षका लागि कारागारको आदेश गरेको थियो । दाजु आफताब पक्राउ परेलगत्तै महताब फरार थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *