‘म १० वर्षको भएँ, अहिले । म रेप हुँदा ६ वर्षको थिएँ । गाउँमा जन्में । गाउँमा अवस्था राम्रो नभएर सहरमा आएँ । मम्मीले एकजना केटा ल्याउनुहुन्थ्यो । उहाँलाई हामीले अंकल भन्ने गर्थ्यौं । कहिले चाउचाउ, कहिले बिस्कुट, कहिले चकलेट ल्याउनुहुन्थ्यो । एक दिन राति म सुतिरहेको बेला मलाई उठाएर लगेर रेप गरेर म मरें भनेर गाडेर जानुभएछ ।’
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा एक बालिकाले चार वर्ष पहिले ६ वर्षको उमेरमा आफूमाथि भएको बलात्कारबारे दिएको जानकारी हो यो । यी शब्द भन्ने क्रममा ती बालिका पटकपटक भक्कानिएकी थिइन् । उनले त्यो रात सम्झिँदै आँशु पुछ्दै घटना विवरण सुनाउँदै थिइन् भने उपस्थित सांसद, त्यस्तै पीडा भोगेका बालिका तथा महिला र यौन हिंसा पीडित महिलाहरूलाई संरक्षण दिने संस्थाका व्यक्ति पनि सुँक्कसुँक्क गरिरहेका थिए ।
समितिको आइतबारको अनौपचारिक बैठकमा रुँदै ती बालिकाले आफूमाथि भएको घटनाको थप विवरणको बयान यसरी गरिन्, ‘अनि मम्मीले छोरी हरायो भनेर पुलिस केस गर्नुभएछ । आर्मीहरू ट्रेनिङ गर्न जंगलमा जाँदा मलाई भेट्टाएछ । म ५ दिनसम्म होसमा आइनँ । होसमा आएपछि सुरुमा त्यो मान्छेको अनुहार हेर्न परेको थियो । डक्टरले ‘कसले रेप गरेको थियो ?’ भनेर सोधेपछि ‘राजु अंकल’ भनेर लेखेको थिएँ । पहिला मम्मीसँगसँगै हिँड्ने, अनि छोरी हरायो भन्दाखेरि नि खोज्न जाने गरेको रहेछ । मेरो मम्मीले विश्वास नगरेर ‘छोरी पागल भइछे, त्यस्तो भएर पागल भइछे’ भन्ने सोच्नुभएछ । रेपिस्टको मम्मीले पनि विश्वास गरेको थिएन । ‘मेरो छोराले एउटा रेप गर्यो भन्दैमा सबै रेप मेरै छोराले गरेको हुन्छ ?’ भनिन् ।
ती बालिकालाई बलात्कार गर्ने व्यक्ति अहिले जेलमा छन् । तर, ती बालिकाले आफूलाई न्याय नभएको नभएको बताइन् । ‘(बलात्कारी) जेलमा बसेर मात्रै हुँदैन । त्यसैलाई मृत्युदण्डको सजाय दिनुपर्छ । मृत्युदण्ड दिए पनि उसको सुसु गर्ने ठाउँ काटेर नपुंसक बनाएर मृत्युदण्ड दिनुपर्छ,’ उनको माग थियो ।