यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।
उनले भने, ‘स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिक रूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्याे भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ ।’ बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछिन् ।
विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक ब्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्यामा विभिन्न क्षेत्रका मानिसलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित तुल्याइने छ ।