म्यान्मार सेनाको समाचार पेज फेसबुकद्वारा बन्द

सामाजिक सञ्जाल फेसबुकले म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज हटाइदिएको छ । फेसबुकले ‘तत्मादअ ट्रु समाचार सूचना पेज’ ले सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरू उल्लंघन गरेको भन्दै उक्त पेज आइतबार हटाइदिएको हो ।

‘बारम्बार हिंसा उक्साएको तथा सामाजिक हानि पुर्‍याएका कारण हाम्रो विश्वव्यापी नीतिअनुसार तत्मादअ ट्रु समाचार सूचना पेज फेसबुकबाट हटाइएको छ,’ फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । म्यान्मारको सेनालाई तत्मादअ भन्ने गरिन्छ । फेसबुकको निर्णयबारे सैनिक अधिकारीसँग प्रतिक्रिया लिने प्रयास असफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्यान्मारमा शनिबार भएका प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । दोस्रो ठूलो सहर म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा उनीहरूको ज्यान गएको हो । त्यस्तै शुक्रबार ज्यान गुमाएकी युवतीको राजधानी नेइपिडअमा आइतबार अन्त्येष्टि गरिएको बीबीसीले उल्लेख गरेको छ ।

फेब्रुअरी १ मा सेनाले सत्ताकब्जा गरेको विरोधमा म्यान्मारका लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका छन् । आइतबार पनि राजधानी नेइपिडअ, यांगुन, म्यान्डलेलगायत सहरमा हजारौं प्रदर्शनकारी सैनिक कदमको विरोध गर्दै सडकमा उत्रेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *