म्यान्मारका सडकमा गाडी तेर्स्याएर प्रदर्शन

म्यान्मारका लोकतन्त्र पक्षधर प्रदर्शनकारीहरूले यांगुनको सडकमा गाडी तेर्साएर सैनिक ‘कु’ को विरोध गरेका छन् । यांगुनमा बुधबार गरिएको प्रदर्शन फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेयताकै सबैभन्दा ठूलो भएको आयोजकहरूले बताएका छन् । बुधबारका प्रदर्शनमा दसौं हजार मानिस भेला भएका थिए ।

प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । बुधबारको प्रदर्शनले म्यान्मारकै ठूलो सहर यांगुनको ट्राफिक व्यवस्था निकै प्रभावित भएको थियो । सुचीलाई सेनाले दोस्रो मुद्दा लगाएपछि प्रदर्शनकारीले नयाँ शैलीमा विरोध जनाएका हुन् ।

आयोजकहरूले सरकारी कर्मचारीलाई काममा जानबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत ‘ब्रोकन डाउन कार’ आन्दोलन आह्वान गरिएको बताएका छन् । त्यस्ता प्रदर्शनमा चिकित्सक, शिक्षक तथा अन्य क्षेत्रका कामदारहरूले समर्थन जनाएका बताइएको छ ।

बुधबार यांगुनका साथै राजधानी नेइपिडअ, म्यान्डलेलगायत सहरमा ‘कु’ को विरोधमा प्रदर्शनहरू भएका छन् । प्रदर्शन बढ्दै गएपछि मुख्य सहरका सडकहरूमा सुरक्षाकर्मी थप गरिएको जनाइएको छ । विरोधमा उत्रेकाहरूले ‘हाम्रा नेतालाई रिहा गर’, हामी न्यायको पक्षमा छौं,’ ‘गैरकानुनी पक्राउ बन्द गर’ लगायत नारा लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *