मिनी रंगशाला निर्माण अलपत्र

सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको मिनी रंगशालाको काम एक वर्षदेखि अलपत्र छ । बेनी खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने काम बजेट अभावले रोकिएको हो ।

चालु वर्ष संघ, प्रदेश र स्थानीय बेनी नगरपालिका कतैबाट पनि बजेट विनियोजन भएन । ९ करोड बढी लागत अनुमान गरिएको रंगशाला बनाउन संघीय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनीका ७ वडा कार्यालयको ९ लाख र संघीय सांसद विकास कोषबाट ५० लाख बजेट खर्च भइसकेको छ ।

नदी बगरमा अवस्थित बेनी खुलामञ्च जिल्लाकै सवैभन्दा ठूलो खेल मैदान मात्र होइन, राजनीतिक सभा/समारोह, सांस्कृतिक कार्यक्रम, व्यापारिक मेला/महोत्सव आयोजना गरिने एकमात्र स्थल हो । ‘लकडाउन सुरु भएदेखि नै मिनी रंगशाला बनाउने काम रोकिएको छ । चालु वर्षमा त झन् कतैबाट पनि बजेट नै आएन,’ रंगशाला निर्माण समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘बेनी नगरपालिकाबाट बजेट रकमान्तर गरेरै भए पनि १५–२० लाखसम्मको बजेट ल्याएर कामलाई निरन्तरता दिने प्रयासमा छौं ।’

कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलको बगरमा ३८ गुणा ८० मिटर आकारमा त्रिकोणात्मक रूपमा अव्यवस्थित मैदानलाई विस्तार गरी ४५ गुणा ९६ मिटर क्षेत्रफलको खेलमैदान बनाउन काम सुरु भएको थियो । फुटबलमा ४५ गुणा ९० मिटर चौडाइ/लम्बाइ न्यूनतम र अधिकतम ६० गुणा १२० मिटर चौडाइ/लम्बाइ भएमात्र फुटबलको अफिसियल खेल मैदान मानिन्छ । मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ७ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *