‘महिलालाई टेबलमा राखेर मात्र हुँदैन, लिडरको रुपमा अगाडि बढाउनुपर्छ’

काठमाडौँ — प्रसूति गृह तथा परोपकार अस्पतालकी निर्देशक डा. संगीता मिश्राले महामारीका बेला निजी अस्पतालले बिरामी भर्ना नलिँदा सरकारी अस्पतालले सेवा दिएको बताएकी छिन् । 

कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’को ‘महामारीमा नारी’ सत्रमा बोल्दै उनले भनिन्, ‘महामारीका बेला कोसी तथा प्रसूति गृहमा काम गर्ने मौका मिल्यो । उदयपुर हटस्पट भइरहेको बेला पनि प्रसूति गृहले बिरामी भर्ना लिइ उपचार सेवा दिएको छ ।’

उनले महामारीका बेला नै कोसी अस्पतालको पहिलो महिला मेडिकल सुपरिटेन्डेट बन्ने मौका पाउँदा १० दिनमै कोभिड अस्पतालको नयाँ सेटअप सुरु गरी सेवा दिएको अनुभव बाँडिन् ।

महामारीमा महिला र पुरुषलाई फरक व्यवहार गरिएको उनको भनाइ थियो । उनले भनिन्, ‘महामारीको बेला हामीले नीतिमा धेरै काम गर्यौँ तर सहकार्य गर्न सकेनौँ । महिला स्वास्थ्य भनेको बच्चा जन्माउन सक्ने मात्र भनेर हेर्छौँ । तर त्यति मात्र होइन । महामारीका बेला महिलाले परिवार नियोजनका साधनहरु पाएनन् त्यसले अनिच्छित गर्भका धेरै केशहरु देखिए ।’ उनले अगाडि भनिन्, ‘निर्भीक महिला हुन सुझाव दिँदै भनिन्,’ सपना हेर्नुस,राम्ररी हेर्नुस् र अगाडि बढ्नुस् ।’

त्यस्तै एपीएफ अस्पतालकी नर्स निशा खत्रीले स्वास्थ्यकर्मीलाई जहिल्यै पनि प्रोत्साहन दिनुपर्ने बताइन् । उनले भनिन्, ‘महिलालाई टेबलमा मात्र राखेर हुँदैन लिडरको रुपमा अगाडि बढाउनुपर्छ । ‘ ‘अस्पतालबिना नर्स सम्भव नै छैन । नर्सको ठूलो भूमिका हुन्छ । नर्सिङ पेसा कहिलेकाहीँ २४ घण्टा त कहिले ४८ घण्टा पनि काम गर्नुपर्ने हुन सक्छ । सुरुमा मलाई पनि डर थियो आफ्नो परिवार तथा समाजमा संक्रमण हुन सक्ला भन्ने तर मैले डर देखाइनँ किनकी त्यो मेरो दायित्व थियो,’ उनले आफ्नो महमारीको अनुभव सुनाइन् ।

‘महामारीको बेला पीपीईको भरमा कोभिड संक्रमित हेर्थ्यौँ । पीपीई लाउँदा लाएको ५ मिनेटमै निस्सासिने हुन्थ्यो । १२ घण्टासम्म भन्दा बढी काम गर्नुपर्थ्यो,’ खत्रीले भनिन्, ‘महामारी तथा कुनै युद्ध लडे पनि मानसिक रुपमा बलियो भएर काम गर्यौँ पनि सफल भइन्छ ।’

त्यस्तै सामाजिक राजनीतिक विश्लेषक चन्दन कौशिकले महामारीका समयमा सरकारले सही दिशामा काम गर्न नसकेको बताए । उनले भने, ‘सरकारले सही दिशामा काम गर्ने सकेन । सबैलाई जानकार छ । सरकार आफ्नै राजनैतिक विषयमा केन्द्रित भयो । आजको युगमा हेर्ने हो भने राज्य संयन्त्रमा महिलाहरुको सहभागिता कम छ ।’

त्यस्तै मनोविद् गंगा पाठकले महामारीका समयमा महिलामा मानसिक समस्या बढी देखिएको बताइन् । महामारीका बेलामा घरेलु हिंसा र सम्बन्धविच्छेदका घटना पनि बढेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *