मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड

हरेक वर्ष प्रदान गरिने भारतको नेसनल फिल्म अवार्डमा यस वर्ष हिन्दी फिल्मका कलाकार मनोज वाजपेयी र तमिल फिल्मका कलाकार धनुषले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । वाजपेयीलाई ‘भोंसले’ र धनुषलाई ‘असुरन’ फिल्मका लागि उत्कृष्ट ठहर्‍याइएको हो । अभिनेत्रीमा भने हिन्दी फिल्म ‘मणिकर्णिका’ र ‘पंगा’का लागि कंगना रनावत उत्कृष्ट घोषित भइन् ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म ‘छिछोरे’ उत्कृष्ट हिन्दी फिल्म घोषित भयो । अवार्ड घोषणा गत मे महिनामा नै गर्ने तयारी थियो । तर कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।

तमिल फिल्म ‘सुपर डिलक्स’का लागि विजय सेतुपतीले सहअभिनेता र ‘तास्कन्द फाइल्स’ का लागि पल्लवी जोशीले सहअभिनेत्रीको अवार्ड पाइन् । प्रियदर्शनले निर्देशन गरेको मलयाली फिल्म ‘मरक्कर लायन अफ दि अरेबियन सी’ उत्कृष्ट फिल्म घोषित भयो भने ‘बहत्तर हूरें’का लागि संजय पुरन सिंह चौहानले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।

सोहिनी चटोपाध्यायले उत्कृष्ट फिल्म समीक्षकको अवार्ड पाइन् । फिल्ममाथि लेखिएको उत्कृष्ट पुस्तकको पुरस्कार सन्जय सुरीको पुस्तक ‘अ गान्धियन अफेयर : इन्डियाज क्युरियस पोट्रेयल अफ लभ इन सिनेमा’ले पायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *