भारतीय विदेशमन्त्रीको टिप्पणी विवादमा परेपछि भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ।भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो।

शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले “दुई महान् भारतीय” भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई विश्वले सम्झने बताएका थिए।उनको यो अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जालहरूमा तीव्र आलोचना भएको छ।यसैबीच, आइतवार भारतको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया जनाएको छ।सञ्चारकर्मीको जिज्ञाशाको जवाफमा उसले विदेशमन्त्रीको टिप्पणी बौद्ध सम्पदासँग जोडेर गरिएको जनाएको हो।बुद्धको जन्मस्थल नेपालमा रहेको लम्बिनैमै भएको कुरामा विवाद नरहेको पनि उक्त प्रतिक्रियामा उल्लेख छ।

भारतीय विदेशमन्त्री जयशङ्करको टिप्पणीलाई लिएर नेपालस्थित परराष्ट्र मन्त्रालयमा पनि प्रश्नहरू सोधिएको थियो।त्यसको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेको छ, “ऐतिहासिक र पुरातात्विक प्रमाणहरूले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य स्थापित र निर्विवाद छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *