भारतमा फेरि संक्रमण तीव्र

खोप अभियान तीव्र पारिए पनि भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ८७१ नयाँ संक्रमित थपिएका छन् । जुन दैनिक संक्रमितको संख्यामा तीन महिनायताकै उच्च हो । आठ दिनयता हरेक दिन २० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । 

यससँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार नाघेको छ । तीमध्ये १ करोड १० लाख ६३ हजारभन्दा बढी निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ६४ छ । पछिल्लो २४ घण्टामा कोरोनाले १७२ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५९ हजार २१६ पुगेको छ ।

केही दिनयता संक्रमितको संख्यामा भइरहेको वृद्धिलाई विज्ञहरूले संक्रमणको अर्को लहर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विशेष गरी महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरातलगायत राज्यमा संक्रमण बढ्न थालेको छ । महाराष्ट्रलगायत केही राज्यले विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कफ्र्यु आदेश जारी गरिसकेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मात्र बढ्दो संक्रमण र खोप अभियानको प्रगतिको समीक्षा गर्न मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका थिए । उक्त छलफलमा मोदीले कोरोना संक्रमणको अर्को लहरलाई समयमै रोक्नका लागि खोप अभियानलाई तीव्रता दिन मुख्यमन्त्रीहरूलाई भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *