भारतमा दोस्रो चरणको खोप अभियान

भारतमा फागुन १७ देखि दोस्रो चरणको कोरोना संक्रमणविरुद्धको खोप अभियान सुरु हुने भएको छ । जसअन्तर्गत ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र जटिल रोगबाट पीडित ४५ वर्ष माथिकालाई खोप लगाइनेछ ।

जटिल रोगअन्तर्गत क्यान्सर, मिर्गौला फेल भएका तथा मुटु रोग लागेकालाई समेटिने जनाइएको छ ।

दुवै समूहमा गरेर १० करोडभन्दा बढी नागरिक समेटिने छन् । सरकारी र निजी अस्पताल दुवैमा खोप उपलब्ध हुनेछ । यसका लागि १० हजार खोप केन्द्रहरू स्थापना गरिनेछन् । २० हजारभन्दा बढी निजी केन्द्रमा समेत खोप उपलब्ध हुने भारत सरकारले जनाएको छ । सरकारी खोप केन्द्रमा खोप निःशुल्क उपलब्ध हुनेछ भने निजी अस्पतालहरूमा भने शुल्क लाग्नेछ । कति शुल्क लाग्ने भन्ने तय भइसकेको छैन । यसबारे ३–४ दिनभित्रै निर्णय गरिने केन्द्रीयमन्त्री प्रकाश जावडेकरले बुधबार पत्रकार सम्मेलनमार्फत जनाए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसपटक प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रीहरूले समेत खोप लगाउने छन् । भारतले गत माघ ३ मा पहिलो चरणको खोप अभियान थालेको थियो । पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरूलाई खोप लगाउने लक्ष्य राखिए पनि हालसम्म एक करोडभन्दा बढीले मात्र लगाएका छन् । आगामी जुलाई महिनासम्म २७ करोड जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । तर हालसम्मको प्रगति हेर्दा खोप अभियानमा लक्ष्यभन्दा निकै कम मानिस मात्रै सामेल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *