भारतमा कोरोना भाइरसको सङ्क्रमण झनै तीब्र बनेको देखिएको छ

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्याङ्कमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको सङ्क्रमणको सबैभन्दा ठूलो सङ्ख्या भएको बताइएको छ ।

त्यसैगरी यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको सङ्क्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।
यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । त्यसैगरी भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा यसअघि तीन लाखभन्दा केही बढी सङ्क्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका हुन् । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कुल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *