भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल-भारत सीमामा कडाइ गरिँदै

सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ।

यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भए/नभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ।

नेपाल-भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्।

तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *