भारतमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० लाख नाघेको अधिकारीहरूले बताएका छन् ।कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।अरू देशको तुलनामा भारतमा कोभिड-१९ तीव्र गतिमा फैलिरहेको देखिएको छ । त्यहाँ मङ्गलवारसम्म निरन्तर पाँच दिन दैनिक ९०,००० भन्दा बढी सङ्क्रमित फेला परे।
कोभिड-१९ का कारणले त्यहाँ ८०,००० भन्दा बढी बिरामीको मृत्यु भइसकेको छ।त्यहाँ अहिले सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिको बताइन्छ।तर धेरै सङ्क्रमित भए पनि मृतकको सङ्ख्या अतिप्रभावित अरू देशको भन्दा कम छ।
देशको आर्थिक स्थिति बिग्रिन थालेको र लाखौँ मानिसले जीविकोपार्जन गर्न नसकेको भन्दै सरकारले महामारी नियन्त्रणका लागि पहिला लगाइएका बन्देजहरू हटाउन थालेपछि सङ्क्रमण दर ह्वात्तै बढेको हो।