भागरथीको बलात्कार तथा हत्याका अभियुक्त दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । ‘अभियुक्तले आफूले हत्या गरेको बयान स्वीकारिसकेका छन्,’ डीआईजी सुवेदीले भने,’ घाँटी थिचेर मारेको बयान दिएपनि हत्या गर्नुको कारण उनले भनेनका छैनन् । उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *