ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झन् बढेको छ । ब्राजिली अधिकारीहरुका अनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको जनाएको छ ।
योसँगै कोरोनाभाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजारभन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका हुन् । यसअघि यही मार्चको २८ तारिखका दिन कोरोना भाइरसबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित बिरामी भेटिएका छन् ।
मन्त्रालयले जनाएअनुसार केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । अहिलेसम्ममा एक करोड २१ लाखभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत सातादेखि नै कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *