बेलायती राजदरबार भन्छ : ह्यारी-मेगनले अन्तर्वार्तामा उठाएको कुरामा गम्भीर र दु:खी छौँ

अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेगनको विशेष अन्तर्वार्ताले विश्व तरंगित भएपछि बेलायती राजदरबारले प्रतिक्रिया दिएको छ  ।

बेलायतको शाही निवास बकिंघम दरबारले विज्ञप्ति जारी गर्दै राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अन्तर्वार्तामा उठाएको विषयवस्तु निकै ‘चिन्ताजनक’ भएको बताएको हो । बेलायती महारानी एलिजाबेथका तर्फबाट जारी गरिएको वक्त्वयमा अन्तर्वार्तामा उठाइएको विषयबस्तुमाथि दरबारले आफ्नै किसिमले सम्बोधन गर्ने जनाइएको छ ।

अन्तर्वार्तामा डचेस अफ ससेक्स मेगनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने कुराकानी शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ । तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन् । ३९ वर्षीय मेघनकी आमा अश्वेत हुन् । उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ । अन्तर्वार्ताका क्रममा उनले मानसिक समस्या भोग्दा सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारे अन्योलमा परेको समेत बताइन् ।

दरबारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही वर्ष ह्‍यारी र मेघनका लागि चुनौतीपूर्ण रहेको थाहा पाउँदा पूरै शाही परिवार निकै दु:खी छ ।’ वक्तव्यमा भनिएको छ, ‘दुवैले उठाएको विषय विशेषगरी रंगभेदसँग जोडिएको विषय निकै चिन्ताजनक छ । हुन सक्छ मानिसहरुले यसलाई अलगअलग तरिकाले सम्झिएका होलान् । हामीले यसलाई गम्भीरतापूर्वक रुपमा लिएका छौं । शाही परिवारले यसलाई निजी रुपमा सम्बोधनको प्रयास गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *