बेलायतको जनगणनामार्फत पहिचान खोज्दै नेपाली

बेलायतका नेपाली यतिखेर आफ्नो पहिचान स्थापित गर्न सामूहिक रूपमा जुटेका छन् । यूकेका ४ राज्यमध्ये इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा मार्च २१ मा हुने राष्ट्रिय जनगणनामार्फत् आफ्नो पहिचानका लागि बेलायतको नेपाली डायस्पोरा जुटेको हो ।

स्कटल्यान्डमा भने अर्को वर्ष सन् २०२२ मा मात्र जनगणना हुनेछ । बेलायतमा सन् १८०१ देखि सुरु गरिएको जनगणना हरेक १० वर्षमा हुन्छ ।

जनगणनामा नेपाली सहभागिताका लागि सेन्टर फर नेपाल स्टडिज यूके, एनआरएनए यूके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूके, एनआरएनए यूके इंग्ल्यान्ड र वेल्स राज्य समन्वय परिषद्, डार्टफोर्ड नेपाली समाज यूकेलगायत विभिन्न नेपाली संघसंस्थाले अभियान नै सुरु गरेका छन् ।

जनगणना फारामको इथ्निक ग्रुप (जातीय समूह) भागमा ‘नेपाली’ र मुख्य भाषाको प्रश्नमा पनि ‘नेपाली’ नै लेख्न ती संघसंस्थाको अपिल छ । सेन्टर फर नेपाल स्टडिज यूके (सीएनएस यूके) का संस्थापक डा. कृष्ण अधिकारीका भनाइमा सेन्ससका धेरै विषयमध्ये नेपालीका लागि जातीय समूह (इथ्निक ग्रुप) पहिचान र भाषा अति महत्त्वपूर्ण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *