बेपत्ताका परिवार भन्छन्– ‘आउने बाटो हेर्दै आँखा थाकिसके’

सशस्त्र द्वन्द्वका क्रममा १९ वर्षअघि जिल्ला शिक्षा कार्यालयले पत्र लेखेर बोलाएपछि घरबाट सदरमुकाम मान्म गएका सालडाँडा प्रावि पोरिपाल्नीका शिक्षक भद्रबहादुर बोगटीलाई जिशिअ युवराज शर्माले प्रहरीलाई बुझाए ।

प्रहरीले सेनाको भैरव गुल्ममा बुझाएपछि उनी हालसम्म कहाँ छन् भन्नेबारे आफन्तलाई थाहा छैन । उनलाई गुल्ममै यातना दिएर हत्या गरिएको आफन्तको अनुमान छ तर कुनै खबर नहुँदा घरपरिवार अझै कतै छन् कि भन्ने आशामै बसेका छन् । उनका भतिजा निर्मल विष्टलाई पनि त्यतिबेलै गस्तीमा मान्म पुगेको सुरक्षा फौजले पक्राउ गरेर बेपत्ता बनाएको छ ।

माओवादीको आरोपमा घरबाटै पक्राउ गरेर बेपत्ता बनाइएका खाँडाचक्र–२, गैरागाउँका शिक्षक बोगटीको परिवारले बेपत्ता पारिएका व्यक्ति छानबिन समिति अध्यक्ष युवराज सुवेदीसहितका अधिकारीसँग गुनासो पोख्दै बेपत्ताबारे जानकारी दिनुपर्ने माग राखे । ‘एक दुई दिन हराउँदा त कति छटपटी र तनाव हुन्छ,’ शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा आयोजित पीडित पहिचान तथा परिचयपत्र वितरणसम्बन्धी सरोकारवालासँगको अन्तक्र्रियामा बोगटीकी पत्नी अविसराले भनिन्, ‘बाटो हेर्दै आँखा थाकिसके, कि सास चाहियो कि लास चाहियो ।’

मान्म गाउँको पारिपट्टि पर्ने भर्तास्थित सालडाँडा प्राविका प्रधानाध्यापक बोगटीलाई जिशिअले नै पत्र लेखेर बोलाएर पछि बेपत्ता पारिएको उनका छोरा नरेन्द्रले बताए । सेनाको क्याम्पमा लिएपछि बुझ्न जाँदा ‘खै थाहा छैन’ भन्ने जवाफ मात्र पाइएको उनले सुनाए । शिक्षक बोगटीका ३ नाबालक छोराछोरी हाल जवान भइसकेका छन् । उनीहरूले बुबा बेपत्ता भएकाले उनका नाममा रहेको जग्गाजमिन पनि आफ््ना नाममा नामसारी गर्न पाएका छैनन् । ‘बाबा नहुँदाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ,’ नरेन्द्र बोगटीले भने, ‘द्वन्द्वपीडितले पाउने सुविधा पनि पाका छैनौं ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *