बलात्कारको झुटो बयान दिने तीन जना थुनामा

सामूहिक बलात्कार गरेको झुटो बयान दिएर अरुलाई फसाउन खोज्ने ओखलढुंगाकी १७ वर्षीया किशोरीसहित ३ जनालाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । बलात्कारको नाटक गर्ने किशोरीको उमेर नपुगेकाले बालसुधार गृह पठाइएको छ । उक्त घटनाका मुख्य योजनाकार भने फरार छन् ।  

पुस २८ गते आफूलाई बलात्कार गरेको भन्दै ओखलढुंगाकी पीडित भनिएकी किशोरी, उनका नातेदार चिनीमाया नेपाली, कल्पना भुजुरलाई बलात्कारको झुटो बयान दिएर अरुलाई फसाउन खोजेको आरोपमा न्यायाधीश काजीबहादुर राईको इजलासले शुक्रबार पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको जिल्ला न्यायधिवक्ता सुभाष भट्टराईले जनाकारी दिए ।

‘बलात्कार भएको भनिएकी किशोरीको उमेर नपुगेकोले बालसुधार गृह पठाउने आदेश भएको छ,’ उनले भने, ‘बलात्कार भएको भनेर झुटो बयान दिने अन्य दुई जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।’

प्रहरीले पीडित भनिएकी किशोरीको बयानका आधारमा अनुसन्धान अघि बढाउँदा आरोप पुष्टि नभएपछि उनीहरुमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको थियो । पीडित भनिएकी किशोरी ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रिर बाटोमा बसिरहेका बेला ५ जनाले अपहरण गरेर रौतहट चन्द्रनिगाहपुर ल्याइ दुई तले पक्की घरमा रातभरि बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा झुटो बयान दिएकी थिइन् । त्यसपछि प्रहरीले किशोरीको भाउजू नाता पर्ने चिनीमाया र साथी कल्पनालाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागज गराएर घटनास्थल यकिन गर्न टोली पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *