बंगलादेशको प्रदर्शनमा झडप, दर्जनौं घाइते

बंगलादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बंगलादेशमा अधिकारवादी तथा विपक्षीहरू आन्दोलित भएका छन् । स्थानीय टेलिभिजनहरूले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरू थप आक्रोशित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ । प्रहरीले भने प्रदर्शन निषेधित स्थानमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ ।

‘उनीहरूलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन । अनुमति नहुँदानहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लंघन गरेकाले हामीले उनीहरूलाई रोकेका हौं,’ एक प्रहरी अधिकारीले भने । विपक्षी दल बीएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो दलका मात्रै ३० जना घाइते भएका जनाए । घाइते हुनेमा वरिष्ठ नेताहरू समेत रहेका उनको भनाइ छ ।

प्रदर्शनमा ५ सय जनाभन्दा बढी सहभागी भएका अहमदको दाबी छ । प्रदर्शन ऐतिहासिक भएको दाबी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथिको हस्तक्षेपमा सरकारी पक्ष नै संलग्न भएको आशंका उब्जाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *