फाइजरको कोरोना खोपलाई अस्ट्रेलियामा अनुमति

फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपलाई अस्ट्रेलियाले प्रयोगका लागि अनुमति दिएको छ । अस्ट्रेलियाको औषधिसम्बन्धी नियमनकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले सोमबार उक्त खोपको प्रयोगका लागि अनुमति दिएको हो । 

प्रधानमन्त्री स्कट मरिसनले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएकै दिन खोप प्रयोगको अनुमति आएको बताए । उनले खोप प्रयोगको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध लड्नका लागि अझ एक कदम अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री मरिसनले सबै अस्ट्रेलियालीले विश्वस्तरको नियमनकारी निकायबाट अनुमति प्राप्त भएकाले गुणस्तरमा विश्वस्त हुन आग्रहसमेत गरेका छन् । उनले सरकारले सोचजस्तै अर्काे महिनाको मध्य तथा अन्तिमसम्म अस्ट्रेलियामा खोप दिन सुरु गरिने जनाएका छन् । उनले विश्वमा देखिएको खोपको आपूर्ति अहिलेको लागि चुनौती हुनसक्ने समेत बताएका छन् ।

फाइजरपछि अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा निर्मित खोपले अनुमति पाउने सञ्चारमाध्यमले उल्लेख गरेमन छन् । सरकारले पहिलो चरणमा ल्याएको खोप वृद्धवृद्धाका साथै अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलगायतलाई वितरण गरिने सरकारले घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *